विराटनगर १० माघ । विराटनगरस्थित एक घरमा आज दिउसै चोरी भएको छ । चोरले सो घरबाट साढे ३ लाख बराबरको धनमाल चोरी गरि लगेको छ ।
विराटनगर १३ आश्रम टोलस्थित जिंकेश यादवको घरमा आज दिउसो ३ बजेदेखी ५ बजेको बीचमा चोरी भएको हो । घरधनि काम बिशेषले घरबाट निस्किएको समयमा चोरहरुले घर पसेर चोरी गरेको पाइएको छ । घरको मुल ढोकाको ताल्चा फुटाएर कोठामा प्रवेश गरेका चोरहरुले दराजमा राखिएको बहुमुल्य गरगहना तथा धातुका सामान सहित महँगा साडीहरु चोरीगरि लगेको छ । घटनामा साढे २ तोलाको सुनको सिक्री, १२ आना तौलको २ जोर कानमा लगाउन गहना,चांदी ४ तोला र नगद २५ हजार सहित ४ थान महँगा साडी र मुल्यबान धातुका भाडाबर्तन समेत चोरी भएको घरधनि यादवले बताउनुभयो ।
चोरी भएका सामानहरुको मुल्य साढे ३ लाख बढी हुनसक्ने यादवले दाबी गर्नुभयो । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले घटनास्थलबाट चोरीको विवरण संकलन गरेको छ । घटनाको बिषयमा अनुसन्धान तीब्र पारिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकास राउतले बताउनुभयो ।
दिउँसै कोठा भित्रको दराज फोरेर चोरहरुले चोरी गरेपछि आफुहरु आतंकित भएको स्थानियले प्रतिक्रिया दिएका छन । उनिहरुले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने माग समेत गरेका छन ।