कटहरी ३ पुष । मोरङको कटहरी गाउँपालिकाका सन्थाल समुदायले ‘काराम बिन्ति’ भनिने सामुदायिक पुजा मनाएका छन । सुखशान्ति र आर्थिक समुन्नतिको कामनासहित सन्थाल समुदायका गाउँपिच्छे यो पुजाको आयोजनागर्ने गरिन्छ ।
दशैंपछि फागु पुर्णिमाको बिचमा यो पुजाको आयोजनागर्ने गरिन्छ । दुईदिनसम्म मनाईने यस पुजामा पहिलोदिन करमको रुखलाई देवीकोरुपमा प्रतिस्थापनगर्दै रातभरि जाग्राम बसेर बिन्ति तथा आराधना गरिन्छ भने दोश्रो दिन सांस्कृतिक कार्यक्रम र प्रसाद वितरण लगायतका कार्यक्रम गरिन्छ । दोश्रोदिनको कार्यक्रमपछि प्रतिस्थापन गरिएको करमको रुखलाई स्थानिय जलाशयमा सेलाएपछि काराम बिन्ति सम्पन्न हुने गर्छ । यो पुजामा करमको रुखलाई धनधान्यकी देवी लक्ष्मीको रुपमा पुजापाठ गर्नुकासाथै करमका दुई भाईकोरुपमा करमु,धरमु नामक देवतालाई आराधना गर्ने गरिएको सन्थाल संस्कृतिका जानकार परमेश्वर मुुर्मुले बताउनुभयो ।
यो पुजाको आयोजना भने सन्थाल समुदायका प्रत्येक गाउँमा रहने गाउँका मुख्य पुजारी अर्थात मंझी बाबाको निर्णय अनुसार आयोजना गर्ने चलन छ । पुजाकालागि प्रतिस्थापना गरिने देवीको प्रतिकलाई प्रसादकोरुपमा अनिवार्यरुपमा जाँड तथा मिठाई अर्पण गरिन्छ । गाउँपिच्छै फरकफरक समयमा आयोजना हुने यो पुजामा सहभागिहुन छरछिमेक,आफन्त तथा नातागोताका मानिसहरुलाई आमन्त्रण गरिन्छ । यसरी आमन्त्रण गरिएका निम्तालुहरुले कोसेलीकोरुपमा दालचामल र जाँड लगायतका सामाग्रि सहित मेजबानकोमा उपस्थित हुने प्रचलन छ । यो पुजा आयोजना गरेपछि त्यसलाई बर्षेनि निरन्तरता दिनुपर्ने मान्यता छ । एकपटक आयोजना गरेपछि यो पुजा बिजोरी बर्षहरुसम्म निरन्तरता दिएर मात्र समापन गरिन्छ ।
घटिमा ३ बर्ष अथवा ५,७ र ९ बर्षसम्म यो पुजालाई निरन्तरता दिनुपर्ने मान्यता रहेको कटहरी–४ का सन्थाल समुदायका मंझीबाबा सुरेन्द्र टुडूले जानकारी दिनुभयो ।