विराटनगर ३ पुष । विराटनगरमा भलिबल प्रशिक्षणस्थल संचालनमा ल्याइएको छ । ब्यवसायिक र प्रशिक्षित खेलाडी उत्पादनगर्न विराटनगरको वडानम्बर १० भुमिप्रशासनचोकमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको छ ।
बिराट खेलकुद क्लबले प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । सो ठाउँमा आज आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिका वडानम्बर १० का वडाध्यक्ष माधव वाग्लेले प्रशिक्षणस्थलको उद्घाटन गर्नुभयो । विराट खेलकुद क्लबले एक निजी ब्यक्तीको जग्गा लिजमा लिएर प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । महानगरपलिकाक्षेत्रमा अभ्यासस्थलको अभावमा भलिबल खेलाडीहरुको उत्पादनमा ह्रास हुँदै गएकाले ब्यवस्थितरुपमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको विराट खेलकुद क्लबका अध्यक्ष मोहम्मद नसरुलले बताउनुभयो ।
कोर्ट संचालनमा आएपछि ब्यवसायिक खेलाडी उत्पादनगर्न सघाउ पुग्ने उहाँले बताउनुभयो । कोर्ट संचालनमा ल्याइएपछि प्याब्सन,एन प्याब्सन सहित सामुदायिक विद्यालयहरुले समेत चासो लिएको र हालसम्म १ सय ५ वटा विद्यालयले आफ्ना विद्यार्थी प्रशिक्षणकालागि पठाउने जनाइसकेको आयोजक समितिले बताएको छ । प्रशिक्षणस्थलमा क्बबले सशुल्क प्रशिक्षण दिने ब्यवस्था मिलाएको छ । पुर्व खेलाडी एवम राष्ट्रिय प्रशिक्षक विरेन्द्र्र चौधरीले खेलाडीहरुलाई प्रशिक्षण दिनुहुने जनाइएको छ ।
प्रशिक्षणस्थल उदघाटनको अवसरमा एभरेष्ट कलेज र आदर्श बालिका विद्यालयबीच प्रर्दशनी खेल आयोजना गरिएको छ ।