विराटनगर २० मंसिर । नेपाल रेडक्रस सोसाईटी मोरङले विराटनगर महानगरपालिकालाई ३७ लाख मुल्य बराबरको राहत सामाग्रि उपलब्ध गराएको छ ।
बाढी प्रभावित अति विपन्न नगरबासीलाई वितरणकालागि भन्दै रेडक्रसले महानगरलाई सो मुल्य बराबरको राहत सामाग्रि उपलब्ध गराएको हो । शनिहाटस्थित रेडक्रस परिसरमा आज आयोजित कार्यक्रमकाबीच मोरङ सभापति सुबोध कुमार सिंहले विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीलाई राहत सामाग्रिहरु हस्तान्तरण गर्नुभयो । सो अवसरमा रेडक्रसले महानगरलाई त्रिपाल २ सय थान,सोलार लाइट ४ सय ४८ थान,डिग्नेटी किट ३ सय ५० थान,किशोरी किट २ सय ५० थान र झुल ४ सय ५० थान प्रदान गरेको छ ।
रेडक्रस केन्द्रीय कार्यालयको सहयोगमा महानगरलाई ती सामाग्रिहरु उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटीका मोरङ सभापति सिंहले बताउनुभयो । कात्तिक पहिलो साता आएको बाढीका कारण अति विपन्न परिवारहरु सबभन्दा बढी प्रभावित भएकाले त्यस्ता परिवारहरुलाई वितरणको उद्धेश्य सहित महानगरलाई राहत हस्तान्तरण गरिएको सभापति सिंहले बताउनुभयो । रेडक्रसबाट प्राप्त भएको सामाग्रिहरु नगरभित्रका वडासमितिहरुको कार्यालय मार्फत बाढी प्रभावित अति विपन्न समुदायलाई आवश्यकता र अवस्थाका आधारमा वितरण गरिने महानगरपालिका सम्बद्ध कर्मचारीले बताएका छन ।
उपलब्ध गराइएका सामाग्रि झण्डै ३ सय ५० परिवारलाई वितरण गर्न पुग्ने जनाइएको छ ।