विराटनगर ११ मंसिर । मधेशका मुद्धाहरुलाई उठानगर्दै स्वर्गिय गजेन्द्रनारायण सिंहको अध्यक्षतामा गठन गरिएको नेपाल सद्भावना पार्टीले पुर्नजीवन पाएको छ ।
सो पार्टीले सांगठनिक गतिविधि तीब्र बनाएपछि पार्टीले पुर्नजीवन पाएको हो । यसअघि सो पार्टी लामो समयदेखी निष्क्रिय थियो । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच सो पार्टीको मोरङ जिल्ला कमिटि गठन गरिएको छ । पार्टीका पुराना नेता बद्रीप्रसाद मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच २१ सदस्यिय मोरङ जिल्ला कमिटि गठन गरिएको छ । जगरनाथ राजवंशीको अध्यक्षतामा जिल्ला कमिटि गठन गरिएको हो । २०४७ सालमा निर्माण भएको सो पार्टी बिभाजन लगायतका कारणले यसअघि निष्क्रिय थियो । पछिल्लो समय पार्टीले बितेको अषाढ महिनामा निर्वाचन आयोगबाट समेत मान्यता पाइसकेकाले यतिखेर पार्टीको जिल्ला,नगर र गाउँस्तरिय कमिटिहरु गठन गर्ने काम भइरहेको पुर्व उपप्रधानमन्त्री समेत रहिसक्नु भएका पार्टीका सर्वमान्य नेता बद्रीप्रसाद मण्डलले बताउनुभयो । उहाँले आउदो निर्वाचनमा पार्टीले तीनै तहमा निर्वाचन लड्ने तयारी गरेको समेत बताउनुभयो ।
पार्टीले गतिविधि तीब्र बनाएसंगै सरकारलाई तीनबुँदै अपिल समेत गरेको छ । पार्टीले जारी गरेको अपिलमा किसानलाई समयमा आवश्यक मल र उपलब्ध गराउन माग गरिएको छ भने विपन्न,मजदुर,साना किसान तथा अपाङता भएका ब्यक्तीहरुकालागि स्थानियतहहरुमा सुपथ मुल्यको पसल संचालनमा ल्याउन माग गरिएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा जनकपुरधामका रामकुमार महतो रहनुभएको छ भने मण्डल सर्वमान्य नेताकोरुपमा चयन हुनु भएको छ । हालसम्म पार्टीले मोरङदेखी पर्सासम्म कमिटिहरु गठन गरिसकेको जनाइएको छ ।