विराटनगरको वडा नम्बर १ पोखरिया,शान्तिचोकस्थित देविका मास्केको घरमा अराजक समूहले तोडफोड गरेको छ । शनिबार राति १० बजे समूह बनाएर आएको हुलले मास्केको घरमा तोडफोड गरेको हो ।
तोडफोडबाट मास्के परिवारको घरको टिनको घेराबेरासहित दुईवटा झ्यालको सिसा फुटेको छ भने मुल ढोका र मिटर बक्स लगायतका सामानसमेत तोडफोड भएको छ । घरको उत्तरतर्फबाट आएको हुलले घर घेराउ गरी तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तोडफोड भइरहेको समयमा मास्के परिवारका ४ जना घरभित्रै रहेको जनाइएको छ । घटना भएको घर जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालयभन्दा झण्डै ५० मिटर उत्तरतर्फ छ । घटना भएको केही समयअघि घटनास्थल नजिकैको चोकमा युवाहरुको दुई समूहबीच झगडा भएको बताइएको छ । सोहि क्रममा विपक्षी युवाहरुलाई लखेट्दै आएको समूहले मास्केको घरमा तोडफोड गरेको बताइएको छ ।
झगडामा संलग्न युवाहरुलाई कोठामा लुकाएको आरोप लगाउँदै आफूहरुको घरमा आक्रमण गरी तोडफोड गरिएको घटनाको समयमा घरभित्रै रहनुभएकी देविका मास्केले बताउनुभयो । तोडफोड गर्ने क्रममा घरको झ्यालढोकामा ढुंगा र इट्टा प्रहार गरिएको पीडित परिवारले बताएको छ । शनिबार साँझ साढे ८ बजेबाटै तनावको अवस्था बढ्दै गएर राति १० बजे मास्केको घरमा तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् । मास्के परिवारको घरअगाडि होहल्ला हुन थालेपछि पुगेको थोरै संख्याको प्रहरीलाई समेत हुलले लखेटेको र फेरि थप बल सहित प्रहरी आइपुग्नु अगाडि नै तोडफोड भएको प्रत्यक्षदर्शी दिपक साहले बताउनुभएको छ ।
घटनापछि घटनास्थल वरिपरिका सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । उनिहरुले घटनाको बास्तविकता छानबिन गरी संलग्नहरुलाई कडा कारबाही गर्न मागसमेत गरेका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिहरहेको जनाइएको छ ।
घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनुभएको छ ।