काठमाडौं, २८ पुस-गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पूर्ण खेलाडीलाई आह्वान गरेका छन् । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाइ राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीलाई आह्वान गरेका हुन् ।
उनले प्रचण्ड-नेपाल समूहलाई ‘गुट’को संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए । ‘हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने, नेकपा फुट्नु र फुटाउनु ठीक थियो त, नेकपा फुटाएर देशको विकास सम्भव छ, नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ, देश विकासको दिशामा अघि बढ्न सक्छ, यो प्रश्न हाम्रो अगाडि उभिएको छ,’ उनले भने ।
उनले जनसंगठनहरू पनि विभाजित भएको अवस्थामा प्रचण्ड-नेपालले नेतृत्व गरेको गुटमा नभइ ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आह्वान गरे । मुलुकमा अस्थिरता चाहनेहरू र एकाता र स्थिरता चाहनेहरू विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडी स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उनले बताए ।