काठमाडौं, २७ पुृस-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी थाल्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले आगामी निर्वाचनको आवश्यक तयारी थाल्न सुरक्षा निकालयलाई निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृहमार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन माहोल बन्दै गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाले आ-आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न/गराउन हुन गृह मन्त्रालयले अनुरोध गरेको छ ।
बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको गृहका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बताए ।
गृहमन्त्री थापाको अध्यक्षता गरिएको बैठकमा अर्थमन्त्री पौडेलको विशेष उपस्थिति एवं गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको उनले जानकारी दिए ।