काठमाडौं, १५ पुस-नेपाल राष्ट्र बैंकले अहिले बजारमा ६ खर्ब ३५ अर्ब ५१ करोड रुपैयाँ चलनचल्तीमा रहेको जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकको दायित्व तथा पुँजी अंश विवरणअनुसार बजारमा चलनचल्तीमा यो रकम देखिएको हो ।
गत महिनासम्म यस्तो रकम ६ खर्ब ४७ अर्ब १५ रुपैयाँ रहेकोमा एक महिनामा करिब १२ अर्ब रुपैयाँ रकम फिर्ता भएपछि बजारमा ६ खर्ब ३५ अर्ब रकम देखिएको हो । राष्ट्र बैंकको नयाँ नोट नीतिअनुसार पुराना नोट बजारबाट फिर्ता गरेर नयाँ नोट बजारमा पठाउने गरिन्छ ।
त्यस्तै, राष्ट्र बैंकको दायित्वमा ७१ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन ऋण देखिएको छ । गत महिनासम्म यस्तो ऋणको दायित्व नरहेकोमा पछिल्लो महिना केन्द्रीय बैंकले ७१ अर्ब ८० करोड रुपैयाँको अल्पकालीन ऋण उठाएको देखिएको छ । गत महिनासम्म ११ खर्ब ७७ अर्ब दायित्व रहेकोमा यो महिना घटेर ११ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको जम्मा नगद तथा सम्पत्ति १५ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । यो सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ११ अर्ब रूपैयाँले कमी हो । सम्पत्तिमध्ये ७७ अर्ब ५८ करोड रुपैयाँबराबरको सुनचाँदी छ । गत महिनासम्म सुनचाँदीको लगानी ७६ अर्ब ५७ करोड रूपैयाँको थियो ।
नगद तथा नगद सामान ६ खर्ब ७७ अर्ब रूपैयाँ छ भने बैंक तथा वित्तीय संस्थालाई दिएको सापटी २४ अर्ब ११ करोड रूपैयाँ पुर्याएको छ । अघिल्लो महिनासम्म यस्तो रकम ५ अर्ब ९६ करोड रुपैयाँ मात्रै रहेको थियो । एक महिनाको अवधिमा नै थप १८ अर्ब रूपैयाँ सापटी दिएको छ ।