विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक छैनन् ।
कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि यसपटक विराटनगरका अधिकांश ब्रतालुहरुले वैकल्पिक रुपमा घरघरमै अस्थायी पोखरी बनाएर छठपर्व मनाएका छन् । आज सुर्य उपासनाको तेश्रो दिन ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर आराधना गरेका छन् । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास रहिआएको विराटनगरका युवराज साहले बताए ।
विराटनगरस्थित केशलीया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगत वर्षमा जस्तो उल्लापूर्वक छठ पर्व मनाइएन । नहर तथा खोला छेउ केही सर्वसाधारणले फाट्टफुट्ट घाट निर्माण गरेर आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजन अर्चजना गरेका छन् ।
विगत वर्षहरुमा प्रदेश १ को राजधानी विराटनगरलगायत पूर्वी तराईका जिल्लाहरुमा नदी, पोखरी, ताल, जलाशयहरुमा घाट बेहुली झैँ सिंगारिएरको झकि झकाउ हुने गरेको थियो । तर, यो वर्ष कोरोना माहामारीका कारण न्युन मात्रामा देखिएको छ ।
यो वर्ष कतिपयले घर र र कतिपयले नहर, जलाशय तथा नदीमा मनाइरहेका छन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्षमा भने त्यति उत्साहजनक छैन । कोरोना महामारीका कारण सरकारले संक्रमणको जोखिम हुने भन्दै घरघरमै पोखरी बनाएर व्यक्तिगत ढंगले छठ पर्व मनाउन आग्रह गरेको छ । जस अनुसार कतिपय सर्वसाधरणले आफ्नो घरआँगनमा कृत्रिम पोखरी बनाएर छठ मनाइरहेका हुन् ।
विराटनगर–१२ का गणेश साहले यस पटक घरमै सानो पोखरी खनेर पर्व मनाइरहेको बताए । उनले बाहिर कोरोना संक्रमणको जोखिमका कारण घरमै कृत्रिम पोखरी निर्माण गरेर छठ पर्व मनाइरहेको जानकारी दिए ।
‘सरकारले पनि नदी, खोला, नहर र जलाशयहरुमा छठ पर्व मनाउँदा संक्रमणको जोखिम हुने भएकाले सुरक्षित हुन भनेको छ । कोरोना संक्रमण बढ्दो क्रममा रहेका कारण यो वर्ष घरमै पर्व मनाइरहेका छौँ । ’ उनले भने,‘घरमै एउटा सानो कृत्रिम पोखरी बनाएका छौँ र यो वर्ष यसरीनै छठ मनायौँ । स्वास्थ्य ठिक रहे त अर्को वर्ष पनि पर्व आउँछ ।’
प्रदेश १ को राजधानी विराटनगरमा छठ पर्वको चहलपहल र भीडभाड यो वर्ष विगत भन्दा कम देखिएपनि कोरोना संक्रमणबाट कम प्रभावित स्थानीय तहहरुमा भने अन्य वर्षहरुजस्तै उत्साह देखिएको छ । मोरङका जुडी, लोहन्द्रा, चिसाङ, डाँस, बक्राह खोला, विभिन्न पोखरी, नहर, जलाशयहरुमा छठ पर्व मनाउन केहीदिन अघिदेखिनै घाट सिंगारिएको छ । पर्व मनाउनका लागि जालाशयहरुमा घाट बनाएर चिटिक्क पारिएको छ ।
ग्रामिण क्षेत्र र कोरोना संक्रमणबाट कम प्रभावित स्थानीयतहका श्रद्धालु भक्तजनहरुले यो वर्ष कोरोना माहामारीका कारण सतर्कतापूर्वक छठ पर्व मनाइरहेका छन् । मोरङको रतुवामाई नगरपालिका–६ का श्याम ताँतीले आफुहरुले सावधानी अपनाउँदै छठ पर्व मनाइरहेको बताए । ‘विगत वर्षहरु जस्तो यो वर्ष छैन । कोरोनाका कारण बचेर सतर्कता अपनाउँदै पर्व मनाउनुपर्ने बाध्यता छ ।’ उनले भने,‘त्यसैले यसपटक सामाजिक दुरी कायम गर्दै र सतर्कता अपनाएर मात्र पर्व मनाउदैछौँ । आज भीडभाड नहुनेगरी अलग्गै ठाउँमा घाट बनाएर पुजा गरी पर्व मनायौँ ।’
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गरेर पर्व मनाउन आग्रह गरिएको र सोही अनुसार श्रद्धालु भक्तजनहरुले सतर्कता अपनाएर पर्व मनाइरहेको दावी गरे । ‘अत्याधिक भिडभाडका कारण संक्रमणको जोखिम हुनाले सुरक्षिण रुपमा पर्व मनाउनुपर्छ । धर्म मान्नुहुने सवैले स्वास्थ्य प्रोटोकल अनिवार्यरुपले पालना गरेमा जोखिम कम हुन्छ ।’ उनले भने,‘सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग जरुरी छ । त्यसैले भोली विहानसम्म सतर्कताका साथ पर्व मनाउन आग्रह छ ।’
छठ पर्वको महत्वपूर्ण दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा आराधना आरधना गरिएको छ । आफ्नो मनकामना पुरा हुने विश्वासका साथ भक्तजनहरुले निष्ठापूर्वक छठी माताको पुजा अर्चना गर्ने गरिन्छ । छठपर्व अन्तर्गत ब्रतालुहरुले बिहीबार खरना सम्पन्न गरेका थिए । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेश्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई आरधना गर्ने प्रचलन छ ।
खरनाको दिन हिँजो (बहिबार) बिहानैदेखि ब्रतालुहरुले निराहार व्रत बसेर साँझ सख्खर भएको खिर, केरा, लड्डु, मुलासहितको प्रसाद चढाएपछि ब्रतालुले प्रसाद ग्रहण गरेका थिए ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायूसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता र वैज्ञानिक तथ्यसमेत रहेको दावी गरिन्छ । पूर्णरूपमा साकाहारी हुने यो पर्वमा चामल र गहुँको पीठोबाट बनाइने ठेकुवा, भुसुवा, फलफूल र कसार आदि बनाइने गरिन्छ ।