हेटौँडा, फागुन ११–वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर प्रदेशको बासिन्दाको सम्मान, सुरक्षा र व्यवहारको व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिमा पूर्ण छलफलको लागि पठाउन प्रस्ताव प्रस्तुत गरे।
बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालको तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्व फुयाँलले प्रदेशमा युवा परिषद् गठन गर्ने ऐन, २०७६ लाई छलफलको लागि प्रस्ताव प्रस्तुत गरे। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले यही चालू आवभित्रै काठमाडौँ जिल्लाको टोखा, बूढानीलकण्ठ र पशुपतिनाथ क्षेत्रको वनकालीमा तत्कालै काञ्जी हाउस बनाई छाडा पशुपक्षीहरुलाई व्यवस्थित रूपबाट राख्न लागेको बताए।
प्रदेशसभाको आजै बसेको दोस्रो बैठकको विशेष समयमा बोल्नुहुने सदस्यले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेको संवाद अडियो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए। प्रदेशसभाको अर्को बैठक भोलि फागुन १२ गते अपराह्न ३ बजे बस्नेछ। रासस